Tuesday, September 18, 2012

भूमिसुधारमन्त्री चन्द्रदेव जोशीले राजिनामा दिए,सरकारलाई धक्का


भूमिसुधारमन्त्री चन्द्रदेव जोशीले माओवादी-मधेसवादी गठबन्धन सरकार राष्ट्रिय सहमतिका लागि बाधक बनेको उल्लेख गर्दै मंगलबार पदबाट राजिनामा दिएका छन् । उनले अपराह्न प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटी राजिनामा बुझाएका थिए ।
जोशीले राजिनामा पत्रमा माओवादी-मधेसवादी गठबन्धन र प्रधानमन्त्री भट्टराईले संवैधानिक तथा राजनीतिक संकट समाधानका लागि ठोस पहल नगरेको र बरु सत्ता लम्याइरहने प्रयास गरिरहेकाले वर्तमान सरकारमा बसिरहन नैतिक आधारमा समेत नमिल्ने उल्लेख गरेका छन् । जोशीले प्रधानमन्त्री भट्टराई, माओवादी र मधेसीवादी दल संकटको निकास खोज्नभन्दा सत्ता लम्ब्याउनमात्र लागेकाले आफ्नो त्यसमा गम्भीर असहमति रहेकाले राष्ट्रिय सहमति खोज्ने वातावरण बनाउनका लागि दबाब सिर्जना गर्न आफूले राजिनामा दिएको बताए ।
पार्टीका तर्फबाट म सत्तामा जाँदा सहमतिको सरकार थियो, कांग्रेस र एमालेसमेत सरकारमा थिए । हामी संवैधानिक तथा राजनीतिक संकटको निकास खोज्न सत्तामा गएको हौ जोशीले राजिनामा पछि भने-तर, संविधानसभाको विघटनसँगै कांग्रेस र एमाले सत्ताबाट बाहिरिएपछि सहमतिको सरकार रहेन । माओवादी र मधेसी गठबन्धनको मात्र सरकार हुन पुग्यो । संकटको निकास खोज्नका लागि राष्ट्रिय सहमति कायम गर्न प्रधानमन्त्री भट्टराईलाई पटकपटक आग्रह गरें । कुनै सुनुवाइ भएन । प्रधानमन्त्री र माओवादी तथा मधेसी सत्ता लम्ब्याउनमात्र लागेकाले मेरो त्यसमा गम्भीर असहमति रहेकाले पार्टी निर्णयअनुसार मैले राष्ट्रिय सहमति खोज्ने वातावरण बनाउनका लागि दबाब सिर्जना गर्न राजिनामा दिएको हुँ ।

संयुक्तका जोशीले राजिनामा दिएपछि प्रधानमन्त्री भट्टराई नेतृत्वको सरकारमा १२ दलका १७ जनामन्त्री बाँकी रहेका छन् । वर्तमान सरकारमा माओवादीका प्रधानमन्त्री भट्टराईसहित ६, छ मधेसी दलका ६, साना पाँच दल नेकपा मालेका कुमार बेल्वासे, नेकपा माले समाजवादीका यदुवंश झा, परिवार दलका एकनाथ ढकाल, चुरे भावर पार्टीका बद्री न्यौपाने, नेपा पार्टीका केशवमान शाक्य मन्त्री छन् ।


No comments: