Thursday, May 9, 2013

छ वर्षपछि तीन निकायमा प्रमुख


राष्ट्रपति रामवरण यादवले तीन संवैधानिक निकाय प्रमुख नियुक्त गरेका छन्। संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति यादवले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्व मुख्यसचिव लोकमानसिंह कार्की, लोकसेवा आयोग अध्यक्षमा कयोदेवी यमी र महालेखापरीक्षकमा भानु आचार्यलाई नियुक्त गरेका हुन्। तीनैजनालाई कामु प्रधान न्यायाधीश दामोदरप्रसाद शर्माले बुधबार बिहानै शीतल निवासमा शपथ गराए। अख्तियारमा लोकमान, लोकसेवामा यमी, महालेखामा आचार्य
तीन वर्षअघि नै अख्तियार आयुक्तमा नियुक्ति पाएका पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक केशब बरालले पनि बुधबार नवनियुक्त प्रमुख कार्कीबाट शपथ लिए। अख्तियार प्रमुख नहुँदा उनले शपथ तथा पदभार ग्रहण गर्न पाएका थिएनन्। शपथ ग्रहण समारोहमा मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरू, सरकारी उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि उपस्थिति थिए। नियुक्तिसँगै छ वर्षपछि सबै संवैधानिक निकायले नेतृत्व पाएका छन्।
चैत ३ गते चार राजनीतिक दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बैठकले कार्कीलाई अख्तियार, यमीलाई लोकसेवा, आचार्यलाई महालेखा र नीलकण्ठ उप्रेतीलाई निर्वाचन आयोग प्रमुखमा नियुक्तिका लागि सिफारिस गरेको थियो। कार्कीको सिफारिसबारे अदालतमा रिट परेपछि त्यतिबेला निर्वाचन आयोग प्रमुख मात्र नियुक्त गरिएको थियो।
संवैधानिक परिषद बैठकले आइतबार अन्य तीनको नाम नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। तीनैजनाले बुधबारै पदभार सम्हालेका छन्।

संवैधानिक निकायका नवनियुक्ति प्रमुखहरूको शपथ भइरहँदा राष्ट्रपति कार्यालय बाहिर भने कार्कीलाई अख्तियार प्रमुखमा नियुक्तिको विरोधमा प्रदर्शन भएको थियो। प्रदर्शनमा उत्रिएका केहीलाई प्रहरीले नियन्त्रणमा लिई साँझ छाडेको थियो।
नवनियुक्त अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आयोगलाई निष्पक्ष र नतिजामुखी बनाउने बताएका छन्। आफू शून्य सहनशीलताका आधारमा भ्रष्टाचार नियन्त्रणमा लाग्ने प्रतिबद्धता विज्ञप्तिमार्फत जनाए।
आयोगमा बुधबार शपथग्रहणलगत्तै विज्ञप्ति जारी गर्दै कार्कीले आफूले जनआन्दोलनमा कुनै खालको दमन नगरेको जिकिर गरेका छन्। जनआन्दोलनताका आफू मुख्य सचिवको भूमिकामा रहेको र त्यो कुनै कार्यकारी पद नभएको उनले प्रस्ट पारे। आफूसँग निजामती सेवामा २० वर्षे अनुभव भएकैले निवृत्तिभरण लिइरहेको भन्दै उनले सेवाअवधि नपुगेको गलत प्रचारु नगर्न समेत सञ्चारकर्मीसँग आग्रह गरे।
आफ्नाविरुद्ध भइरहेको विरोधलाई सकारात्मक रूपमा लिएको उनको भनाइ छ। नियुक्तिका विषयमा आएका आलोचनालाई सकारात्मक सल्लाह, सुझाव र मार्गदर्शनका रुपमा लिएको छु, उनले भने,खुला बहस र अन्तर्क्रिया लोकतन्त्रका सुन्दर र सबल पक्ष हुन्। यसो भन्दैमा व्यक्तिगत चरित्र, क्षमता र योग्यतामा आँच आउने गरी मिथ्या प्रचार हुँदा व्यक्तिको स्वतन्त्रतामा पनि असर पर्दोरहेछ।
२०५१ सालमा सुनपैठारीको विषयमा लागेको आरोपको विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख भगवतीकुमार काफ्लेले पेस गरेको प्रमाण, वास्तविकतासहित पेस गरेको रायलाई अनुमोदनमात्रै गरेको बताए। म सार्वजनिक ओहोदामा रहँदा लागेका आरोपका विषयमा पुनरावेदन तथा सर्वोच्च अदालतबाट समेत फैसला भइसकेको छ, उनले भने, कानुनी राज्यमा भएका फैसलाको विषयमा न्यायमूर्तिलाई समेत विवादमा तानिँदा म दुःखबाहेक अरू के व्यक्त गर्न सक्छु र ?

No comments: