Thursday, May 9, 2013

कार्कीको छलाङ



राजाको प्रत्यक्ष शासनकालमा मुख्य सचिव रहेका कार्कीले करिब छ वर्षदेखि रिक्त अख्तियार प्रमुखको जिम्मेवारी लिए।

राजपरिषद स्थायी समितिका तत्कालीन सभापति भूपालमानसिंह कार्कीका छोरा लोकमान ०४१ साउनमा तत्कालीन राजा वीरेन्द्रको हुकुमप्रमांगीबाट राजसभा उपसचिवमा प्रवेश गरेका थिए। तत्कालीन अर्थ राज्यमन्त्री महेश आचार्यको पालामा उनलाई ०४९ सालमा निजामती प्रशासनको राजस्व समूहको उपसचिवमा लगिएको थियो। लगत्तै उनले बेलायतमा दुई वर्षे छात्रवृत्तिमा पढ्ने अवसर पाए।
तत्कालीन अर्थसचिव ठाकुरनाथ पन्तको पालामा कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाएर सहसचिवमा बढुवा भएको कार्कीविरुद्धको मुद्दामा सर्वोच्च अदालतले समेत कार्यसम्पादन मूल्यांकनमा टिपेक्स लगाउन नपाइने आदेश जारी गरेको थियो। सहसचिव बनेलगत्तै कार्की भन्सार विभागका महानिर्देशक बने। त्यसपछि उनले राजस्व अनुसन्धान विभागलगायत निकायमा काम गरे। ०५१ सालमा कार्की भन्सारका महानिर्देशक भएकै बेला चर्चित सुनकाण्डमा उनको नाम मुछिएको थियो।
सहसचिव बनेको पाँच वर्षमै ०५८ वैशाख ६ मा कार्की सचिव बने। उनी जलस्रोत सचिव हुँदा तत्कालीन जलस्रोतमन्त्री बलदेव मजगैयाँसँग विवाद चुलियो। मन्त्री मजगैयाँले प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कार्की फिर्ता गरी नयाँ सचिव पठाउन आग्रह गरे। नभएपछि आफैँले राजीनामा दिए। कार्कीले जलस्रोतसहित स्वास्थ्य, सूचना तथा सञ्चार मन्त्रालयमा सचिवको रुपमा काम गरे। ज्ञानेन्द्रले शासन हातमा लिएर ०६१ मा १५ जना वरिष्ठ दाबेदारलाई पन्छाउँदै उनलाई मुख्य सचिव बनाएका थिए। जनआन्दोलन–२ दबाउन सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप उनीमाथि लाग्दै आएको छ।

No comments: