Thursday, May 9, 2013

क्रिकेटको भव्य सम्मान,मूलपानीको मैदान छिट्टै बन्ने


आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन(३ जितेर फर्केको नेपाली टिमका कप्तान पारस खड्काले बुधबारको भव्य सम्मानपछि क्रिकेटले देशलाई राष्ट्रिय एकतामा बाँध्ने बताउँदै सरकारलाई प्रशासनिक पक्षबाट सहयोग गर्न आग्रह गरेका छन् । यहाँसम्मको यात्रामा खेलाडीले धेरै मिहिनेत गरेका छन्, पारसले भने, अब नेपाली क्रिकेटलाई थप उचाइमा पुर्‍याउन सरकार र प्रशासन पक्षको पालो आएको छ । सम्मानपछि पारसले जीवनकै सबैभन्दा खुसीको दिन रहेको बताए ।
बिहान ९ बजे नेपाल ओर्लिएका खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघ क्यानका पदाधिकारी, करिब दुई सय समर्थक, राष्ट्रिय टिमका दुई प्रायोजक पेप्सी र स्टान्डर्ड चार्टर्ड बैंकका पदाधिकारीले स्वागत गरेका थिए । करिब एक घन्टाको अलमलपछि साढे १० मा एयरपोर्टबाट टोली फूलको मालाले सजाइएको मिनिट्रकमा नगरपरिक्रमका लागि निस्किएको थियो । टिम गौशाला, रातोपुल, मैतीदेवी, डिल्लीबजार, पुतलीसडक, सहिदगेट हुँदै त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेप पुगेर ३ घन्टा लामो परिक्रमा सकिएको थियो । परिक्रमाका दौरान दर्शकले खेलाडीलाई राम्रो साथ दिए ।
३० घन्टाको निन्द्रालाई थाँति राख्दै खेलाडी दर्शकको अपेक्षाअनुसार अटोग्राफ दिनमा व्यस्त रहे । कसैले हात, कसैले पैसाको नोट र कसैले कागजमा अटोग्राफ लिए । युवा तथा खेलकुद मन्त्रालय र राखेपले संयुक्त गरेको सम्मान कार्यक्रम करिब एक घन्टा चलेको थियो । खेलकुद मन्त्री रामकुमार श्रेष्ठले मूलपानीको मैदान छिट्टै बन्ने बताए । तेक्वान्दो खेलाडी दीपक विष्टले राष्ट्रका नायकहरूले ट्रफी जितेर देशलाई गौरवान्वित पारेको बताए । राखेप सदस्य सचिव युवराज लामाले मूलपानीमा ३० हजार क्षमता रहेको रंगशाला बनाउनुपर्ने जानकारी दिए । सिंहदरबारमा तीन बजे मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी, मुख्यसचिव लीलामणि पौडेलले सम्मान गरेका थिए । अध्यक्ष रेग्मीले क्रिकेटमा अहिलेसम्मकै ठूलो सफलता मिलेको बताउँदै टिमका हरेक सदस्यलाई ३ लाख ५० हजार रुपैयाँ दिने घोषणा गरे । उनले क्रिकेट व्यावसायिक हुनुपर्ने बताए । उनले भने, राखेप र क्यानले आवश्यक योजना बनाएर सरकारलाई पेस गर्नु पर्छ । त्यसलाई सरकारले सहयोग गर्नेछ ।

पेरिसडाँडामा सम्मान
एनेकपा माओवादीले पनि बुधबार साँझ टिमलाई नगदसहित सम्मान गर्‍यो । पार्टी मुख्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले सम्मान गरे । १९ सदस्यीय टिमलाई नै जनही २५-२५ हजार रुपैयाँका दरले सम्मान गरेको हो । पारसले सबैको लक्ष्य नेपालले वल्र्डकप खेलेको हेर्ने रहेको बताउँदै त्यसका लागि सहयोग गर्न आग्रह गरे । दाहालले पूर्वाधार बनाउनका लागि सरकारसँग पहल गर्ने वाचा गरे । क्यानले राष्ट्रिय टिमलाई निकट भविष्यमा सम्मान गर्ने भएको छ । एक पदाधिकारीका अनुसार क्यानले हरेक खेलाडीलाई एक-एक लाख रुपैयाँ दिने तयारी गरेको छ ।


No comments: