Sunday, January 15, 2012

सहमतिमै भ्रमण गोप्य राखिएको प्रधानमन्त्रीको भनाइ

काठमाडौं, माघ १(प्रधानमन्त्री बाबुराम भट्टराईले चिनियाँ र नेपाली पक्षको सल्लाह र सहमतिमै चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको भ्रमणबारे प्रचार नगरिएको जानकारी दिएका छन्। आज बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री भट्टराईले चिनियाँ पक्षले भ्रमणबारे प्रचार नगर्न अनुरोध गरेपछि दवावको रुपमा नभई सहमतिमै भ्रमणबारे प्रचार नगरिएको स्पष्ट पारे | उनले चीनका प्रधानमन्त्री जियाबाओको नेपाल भ्रमण ट्र्रान्जिटु भ्रमणमात्र नभई औपचारिक सद्‍भाव भ्रमण भएको बताए।
कुराकानीको क्रममा चिनियाँ प्रधानमन्त्री जियाबाओले यसअघि पुस ५ गते नेपाल भ्रमणमा आफू आउने तय भएकोमा आन्तरिक कारणले भ्रमण स्थगन गरिएको जानकारी दिएको प्रधानमन्त्री भट्टराईले उल्लेख गरे। चिनियाँ प्रधानमन्त्रीको भ्रमण आफू नेतृत्वको सरकारलाई चीन सरकारको पूर्ण समर्थन र सहयोग रहने राजनीतिक सन्देश भएको पनि प्रधानमन्त्री डा भट्टराईले उल्लेख गरे।
चिनियाँ प्रधानमन्त्रीले भ्रमणका क्रममा नेपालले भारतसँगको सम्बन्धलाई थप विस्तार गर्नसमेत आग्रह गरेको प्रधानमन्त्रीले जानकारी दिए। मैले चिनियाँ प्रधानमन्त्रीलाई भारत र चीनबीच रहेको नेपालले दुवै देशसँग सन्तुलित सम्बन्ध राख्ने पक्षमा नेपाल रहेको जानकारी दिए। उहाँले पनि त्यसमा सहमति जनाउनुभयो। चीन र भारत दुई छिमेकीबीच गतिशील पुलको रुपमा नेपालले सेतुको भूमिका खेल्नुपर्ने पक्षमा आफू रहेको प्रधानमन्त्रीले औंल्याए। बदलिँदो परिवेशमा नेपालको विदेश नीतिलाई नयाँ ढङ्गले परिभाषित गनुपर्ने प्रधानमन्त्रीको धारणा थियो। भ्रमणका क्रममा चीनसँग पनि व्यापार लगानी प्रर्वद्धन तथा सुरक्षा सम्बन्धी सम्झौता ९बिप्पा० गर्ने तयारी गरिए पनि समय नपुगेकाले केही समयपछि सो सम्झौता गर्ने सहमति भएको प्रधानमन्त्रीले जानकारी दिए।
चीनको सीमाबाट काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग पुर्‍याउन चिनियाँ पक्षसँग आफूले सहयोग मागेको पनि उनले बताए। त्यस्तै चीनसँग सीमा जोडिएको नेपालका हुम्ला, मुस्ताङलगायतका जिल्लामा चीन र नेपालले सडक यातायात विस्तार गर्न पहल गर्नुपर्ने धारणा पनि उनले व्यक्त गरे।

No comments: