Tuesday, September 18, 2012

पहिलो चरणको लडाकु समायोजन कार्य सम्पन्न,एक हजार ५४४ लडाकु समायोजनको परीक्षामा


माओवादीको लडाकुको नेपाली सेनामा समायोजन कार्यको पहिलो चरणको सम्पन्न भएको छ । गत भदौ २१ गतेदेखि प्रारम्भ भएको माओवादी सेना समायोजनको पहिलो चरणको कार्य मंगलबार सम्पन्न भएको हो । उक्त अवधिमा सेना समायोजन विशेष समितिको सचिवालयबाट परिचालित भएका सरकारी अधिकारीहरूले एक हजार ५४४ लडाकुको परीक्षा लिनका साथै सरकारले ‘प्याकेज’मा उपलब्ध गराएको रकमको ‘चेक’ र बाटो खर्च बापतको रकम बुझेका छन् ।


इलाम, सिन्धुली, चितवन, नवलपरासी, रोल्पा र सुर्खेतका सात मुख्य तथा मुलुकका अन्य भागमा अवस्थित आठवटा सहायक शिविरमा पुगेर समायोजन रोजेका तीन हजार १२३ जना माओवादी लडाकु मध्ये एक हजार ५११ जना स्वेच्छिक अवकासमा जाने भएका छन् ।
विशेष समिति सचिवालयका निमित्त सचिव मधुविलास पण्डितका अनुसार अधिकृत तहको परीक्षामा सामेल भएका ८५ जना र अन्य दर्जाका निम्ति जाँच दिएका एक हजार ४४९ लडाकुको परीक्षाफल क्रमशः यही असोज ७ र २१ गते सार्वजनिक गरिने छ ।
लोक सेवा आयोग, सचिवालयका कर्मचारीको संलग्नतामा नेपाली सेनाले सञ्चालन गरेको परीक्षामा अनुत्तीर्ण हुने लडाकुहरू स्वतः अवकाशमा जाने उनले बताए ।

अधिकृत र अन्य दर्जाको परीक्षा परिणाम प्रकाशित भएपछि सचिवालयको निर्णयअनुसार बाँकी काम अघि बढाइने तथा नेपाली सेनामा प्रवेश गरेको मितिदेखि नेपाल सरकारले उनीहरूलाई कुनै किसिमको आर्थिक सहयोग प्रदान नगर्ने पण्डितले स्पष्ट पारे ।
सरकारले हिमाली क्षेत्रका लडाकु लाई रु आठ, पहाडी भेगकालाई रु पाँच र तराई इलाकाकालाई रु दुई हजार बाटो खर्चबापत दिएको थियो । त्यसैगरी स्वेच्छिक अवकासमा जानेहरूलाई उनीहरूको दर्जाअनुसार चेकबाट रु ८१ करोड नौ लाख प्रदान गरिएको थियो ।

No comments: