Thursday, September 13, 2012

महिना दिनको विवाद पछि प्रहरी प्रमुखमा कुवेरसिंह राना नियुक्त


नेपाल प्रहरीको प्रमुखमा कुवेरसिंह राना नियुक्त हुनु भएको छ । सिहदरवारमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठताका आधारमा प्रहरी अतिरिक्त महानिरीक्षक रानालाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।
प्रहरीको २३ औं महानिरिक्षक बन्नुभएका रानाको कार्यकाल १३ महिनाको हुनेछ । प्रहरी महानिरीक्षकको दौडमा अतिरिक्त महानिरीक्षकद्वय भिष्म प्रसाई र नवराज ढकाल पनि हुनुहुन्थ्यो । प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बरिष्ठताका आधारमा रानालाई नै प्रहरी प्रमुख बनाउने अडान लिनुभएको थियो भने गृहमन्त्री विजयकुमार गच्छदारले प्रसाई वा ढकालमध्ये एकलाई बनाउनुपर्ने अडान लिनुभएको थियो । दुवैको अडानका कारण नयाँ आईजीपीको टुंगा लाग्न नसक्दा एक महिनाअघि नै बिदा बस्नुपर्ने महानिरिक्षक रवीन्द्रप्रताप शाह अन्तिम दिनसम्मै कार्यलय आउनुपरेको थियो ।

रानालाई महानिरिक्षक बनाउन प्रधानमन्त्री भट्टराईले निकै कसरत गर्नुपर्‍यो । गच्छदारलाई मनाउन मन्त्रिपरिषद् वैठकअघि एमाओवादी अध्यक्ष प्रचण्ड पनि सिंहदरवार पुग्नुभएको थियो । प्रचण्ड-बाबुराम र गच्छदारबीचको छलफलपछि रानालाई आईजीपी बनाउने सहमति भएको बताइएको छ ।

No comments: