Thursday, March 8, 2012

एएफसी च्यालेन्ज कप फुटबलको पहिलो खेलमा नेपालको हार


 काठमाडौंमा बिहीबारबाट सुरु भएको एएफसी च्यालेन्ज कप फुटबलको पहिलो खेलमा नेपालले हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको समूह चरणको पहिलो खेलमा नेपाल प्यालेस्टाइनसँग २(० गोल अन्तरले पराजित भएको हो ।
हारपछि नेपाली टोलीका प्रशिक्षक ग्राहम रोवर्टसले आफ्ना खेलाडीहरुले गल्ती गरेको बताए । रोहित चन्द लगायतका भरपर्दा डिफेण्डरबाट गल्ती भएको भन्दै नेपालले त्यसको सजाय पाएको बताए । घरेलु मैदान र दर्शकको पूर्ण साथ पाएको नेपालले सुरुवाती दुई मिनेट आक्रमक खेल खेलपनि त्यसलाई निरन्तरता दिन सकेन । खेलको चौथो मिनेटमा नै प्यालेस्टाइनका फाहिद एएफ फत्ताहले गोल गर्दै अग्रता दिलाए । काउन्टर अट्याकमा प्यालेस्टाइनी खेलाडीले प्रहार गरेको बल नेपाली गोल रक्षकले रोकनेपनि बाउन्स भएर आएको बलमा पत्ताहले गोल गरेका हुन् ।

पहिलो हापको सुरुमा नै गोल खाएपछि दबाव आएको नेपालले त्यसपछि पनि राम्रो प्रर्दशन गर्न सकेनन् । लगातार दबावमा परेको नेपालले खेलमा र्फकन पहिलो हापमा दुई ओटो मौका गुमाएको थियो । खेलको २५ औं मिनेटमा नेपालका जुमानु राई गोल गर्न चुके । प्यालेस्टाइनका रक्षकलाई कटाएर हानेको बल पोलमा लागेर फर्किएको थियो । त्यसपछि निरन्तर विपक्षीको पोष्टमा धावा बोल्ने प्रयास गरेको नेपालका अनिल गुरुङ गोल गर्न चुके । कप्तान सागर थापाको लामो पास विपक्षीको गोल रक्षकको हातबाट खुस्किएको बलमा अनिलले गोल गर्न सकेनन् ।पहिलो हापमा १(० ले पछि परेको नेपालले दोस्रो हापमा पनि त्यति राम्रो पर्दशन गर्न सकेनन् । प्रशिक्षक ग्राहम रोवर्टले सन्तोष साहुखललाई मैदान छिराएपछि अनिल, जुमानु र सन्तोष तीन जना फर्वाडलाई खेलाए पनि दोस्रो हाप नेपालको पक्षमा आएन ।
खेलमा नेपालले केही आक्रमण गरेपनि प्यालेस्टाइनका कप्तान समेत रहेका रक्षक तगारो बने । खेलको ६४ औं मिनेटमा फत्ताहले टिम तथा व्यक्तिगत दोस्रो गोल गर्दै प्यालेस्टाइनको अग्रता दोब्बर पारे । घरेलु मैदानमा दुई गोल आएपछि नेपाल खेलमा र्फकन सकेन र २(० को हार व्यहोर्दै प्यालेस्टाइनलाई ३ अंक सुम्पियो ।
अब सेमिफाइनल प्रवेश गर्न नेपाललाई बाँकी दुबै खेल जित्नै पर्ने छ । नेपनलले शनिबार माल्दिभ्सको सामना गर्नेछ भने समूह चरणको अन्तिम खेलमा तुर्कमिनिस्तानसँग खेल्नेछ । तुर्कमिनिस्तानले बिहीबार नै भएको खेलमा माल्दिभ्सलाई पराजित गर्दै ३ अंक जोडेको छ । यसअघि दशरथ रंगशालामा भएको भब्य समारोहका बीच प्रधानमन्त्री डा। बाबुराम भट्टराईले फिफा अध्यक्ष सेप ब्लाटरको उपस्थितिमा प्रतियोगिताको उद्घाटन गर्नु भएको थियो ।

No comments: