Monday, June 18, 2012

विरोधका बीच बाबुराम भट्टराई ब्राजिल प्रस्थान

प्रधानमन्त्री बाबुराम भट्टराई राष्ट्रसंघीय बैठकमा भाग लिन सोमबार ब्राजिलको रियो दि जेनेरियोका लागि प्रस्थान गरेका छन् । विपक्षी कांग्रेस र एमालेका विद्यार्थी तथा युवा संगठनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडि विरोध प्रदर्शन गरेका थिए । असार ६ देखि ८ मा हुन लागेको दिगो विकाससम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा भाग लिन भट्टराई त्यसतर्फ गएका हुन् । विमानस्थल बाहिर भइरहेको विरोधका बीच प्रधानमन्त्री भट्टराई सवा ३ बजे केही मन्त्रीसहित विमानस्थल प्रवेश गरेका थिए । नेविसंघका ५ विद्यार्थीले विदेश जानु छ भन्दै विमानस्थल भित्रै छिरेर प्रधानमन्त्रीलाई कालो झण्डा देखाए । उनीहरूलाई विमानस्थल प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा रामप्रसाद अधिकारी, निरञ्जन थापा, सिजर भट्ट, उज्जवन बुढाथोकी र पशुपति साह छन् । वर्षा भएपछि प्रधानमन्त्रीले औपचारिक ढंगले सलामी समेत ग्रहण नगरी विदेश उडेका छन् । कांग्रेस र एमालेका भ्रातृसंगठन नेविसंघ तथा युवा संघले अपराह्न २ बजेपछि एयरपोर्ट अगाडि मूल सडक अवरुद्ध गरेर विरोध प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनकारीले परराष्ट्र मन्त्रालयको बा१झ ५४५३ तथा गृहको बा१ झ ७९६९ नम्बरको गाडीमा ढुंगा हानेर क्षति पुर्‍याएको छ । प्रदर्शनकारीमाथि बल प्रयोग गर्दा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।

प्रदर्शनकारीले एउटा बसेको अगाडिको शिशा फुटाएका थिए । बाक्लो सुरक्षा बीच कामचलाउ सरकारका प्रधानमन्त्रीले विदेश भ्रमण गर्न नहुने भन्दै विरोध गरिएको हो । प्रधानमन्त्रीको विदेश भ्रमणको विपक्षी दलहरुले बिरोध गरिरहेका बेला उनको आफ्नै माओवादी पार्टी समेतले भ्रमणलाई रुचाएको छैन ।

No comments: