Thursday, January 17, 2008

पेट्रोलियम पदार्थको मूल्य बृ‌द्धि दुई दिनमै फिर्ता

तीव्र दबाबपछि सरकारले इन्धनको भाउ बढाउने आफ्नो निर्णय दुई दिनमै फिर्ता लिएको छ।सत्ताधारी दलहरुसँग सम्बद्ध विद्यार्थी संगठनहरुकै अगुवाइमा भएका विरोध प्रदर्शनहरु नियन्त्रणभन्दा बाहिर जाने स्थिति देखा परेपछि सरकारको यो निर्णय आएको छ। सोमबार मध्यरात देखि मट्टितेल, डिजेल र खाना पकाउने ग्यासको भाउ ९ देखि २० प्रतिशतले बढाइएको थियो। केही दिनदेखि अस्वस्थ रहेका प्रधानमन्त्रीको अनुपस्थितिमा बुधबार बसेको मन्त्रिपरिषदको अनौपचारिक बैठकले निर्देशन दिएपछि नेपाल आयल निगमले भाउ बृद्धि फिर्ता लिएको थियो।
निगमका कार्यकारी निर्देशक दिगम्बर झाले भने, “यो निर्णय व्यापारिक भन्दा राजनीतिक उद्देश्यले प्रेरित छ, अराजक तत्वले चुनाव बिथोल्न सक्ने भएकाले यो राजनीतिक फैसला गरिएको हो।“ तीन महिनामा इन्धनको भाउ दोश्रो पटक बढाइएपछि भएको विरोध प्रदर्शन प्रहरी नियन्त्रणभन्दा बाहिर जाने संकेत देखिएको थियो। भाउ बढेको समाचार सार्वजनिक भएको पहिलो दिनको बिहान सबेरैदेखि विद्यार्थीहरुले विरोधमा टायर र काठका मुढा बालेर सडक तताएका थिए। कतिपय ठाउँमा सामान्य मानिसहरुले पनि प्रदर्शनमा भाग लिएका थिए।
दोश्रो दिन बुधबार पनि त्यही दृश्य दोहोरिएको थियो। तर दिन ढल्किंदै जाँदा धेरै ठाउँमा स्थिति निकै तनावग्रस्त बनेको थियो।ठाउँ-ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडपहरू भएका थिए।
अघिल्लो दिनझैं प्रदर्शनकारीहरुलाई तितर वितर पार्न प्रहरीले लाठी चार्ज र अश्रुग्यास प्रयोग गरेको थियो। प्रदर्शनकारीहरुले चाहीं ढुंगा प्रहार गरेका थिए।

No comments: