७७ वर्षको उमेरमा आज बिहान निधन भएका गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको अन्त्येष्टिका क्रममा १३ तोपको सलामी दिइएको छ। पशुपति आर्यघाटमा अन्तिम संस्कार हुँदै गर्दा टुँडिखेलमा १३ पटक तोप पड्काएर सलामी दिइएको थियो।

विगत १० दिनदेखि अस्वस्थ सिंहको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको हो। मल्टिपल अर्गान फेलिएर भएर उनको मृत्यु भएको अस्पतालका चिकित्सक डा. केपी सिंहले बताए।
स्वास्थ्यमा समस्या देखिएपछि ७७ वर्षे सिंहलाई १० दिनअघि महारागन्जस्थित त्रिवि शिक्षिण अस्पताल भर्ना गरिएको थियो। मुटु, मिर्गौला, फोक्सोसहित महत्वपूर्ण अंगमा समस्या देखिएको थियो।
नवजनवादी मोर्चाका अध्यक्ष रहेका सिंह लामो समयदेखि पर्किन्सन, मुटु, पिठ्युँ दुख्ने लगायत रोगबाट पीडित थिए । पञ्चायतकालमा सार्वजनिक रूपमै गणतन्त्रको वकालत गरेका सिंहलाई एकीकृत माओवादीले नेपालको प्रथम राष्ट्रपतिको उम्मेदवार बनाए पनि राष्ट्रपति रामवरण यादवले उनलाई पराजित गरेका थिए।
२०४२ सालको बमकाण्डमा संलग्न रहेको भन्दै अदालतले उनलाई मृत्युदण्डको सजाय सुनाएको थियो। २०४७ सालमा प्रजातन्त्रको स्थापनापछि मृत्युदण्ड सजाय सरकारले फिर्ता लिएको थियो।
सन् १९३६ मा सप्तरीमा जन्मेका सिंहले लामो समय भारतमा निर्वासित जीवन बिताएका थिए। अंग्रेज शासनविरुद्ध भारत छोडो आन्दोलनका लागि सहयोग जुटाउन नेपाल आएका भारतीय समाजवादी नेता जयप्रकाश नारायण र राममनोहर लोहियाको प्रभावले सिंह राजनीतिमा लागेका थिए। सरकारले सिंहको उपचार खर्च व्यहोर्ने निर्णय गरिसकेको छ। सिंहको स्वास्थ्यस्थिति बुझ्न राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री बाबुराम भट्टराई, एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत राजनीतिक दलका नेता अस्पताल पुगेका थिए।
No comments:
Post a Comment